Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ७ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा पुनः दाबी गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्नु एक घण्टा अगाडि दाबी पेस गर्नुभएको छ ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई जसपालगायतका दलले समर्थन गरेका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुभएको हो । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई गत वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो । उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस दिन भित्र प्रतिनिधि सभाबाट विश्‍वासको मत प्राप्त गर्नु पर्ने थियो ।

तपाईको प्रतिक्रिया