मोरङ, ६ जेठ २०७८ । प्रहरीले विराटनगरबाट तीन जना हुण्डी कारोबारीलाई २३ लाख नगदसहित बिहीबार पक्राउ गरेको छ । विराटनगर १३ का २५ वर्षीय श्रवण साह र ३३ वर्षीय अमृत साह सुडी र रंगेली १ बवियाबिर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी पक्राउ परेका हुन् ।
विराटनगरस्थित रोडशेषचोकमा प्रहरीको सुरक्षा जाँचका क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ नगद र एनआईसी एसिया, नबिल, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंक, ग्रामिण विकास बैंक र न्यू लाइफ सेभिङ एण्ड क्रेडिट बैंकको चेक बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
यस्तै, चौधरीको साथबाट २३ हजार नगद बरामद भएको उनले बताए । दुवै जनामाथि अनुसन्धान गर्दै जाँदा अमृतको पनि संलग्नता देखिएकाले उनलाई उनको घरबाटै नियन्त्रणमा लिएको डीएसपी राईले बताए । अमृतको घरबाट दुई थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद बरामद भएको उनले बताए ।
उनीहरुले हुण्डी कारोबारका लागि चैत महिनादेखि ह्वाटस एपबाट विभिन्न बैंकमा रकम जम्मा गर्न लगाउने र त्यसको विवरण पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।कान्तिपुरबाट






