झगेन्द्र खड्का
गौरादह, २१ फागुन २०७७ । शिक्षा क्षेत्रको बजेट कटौतीको बिषयलाई लिएर आन्दोलनरत नेपाल शिक्षक महासंघ नगर समिति गौरादहले शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। गौरादह नगर कार्यपालिकाले सातौं नगरसभामा शिक्षा क्षेत्रको बजेट कटौती गरेपछि चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकहरुले शुक्रबार ३ घण्टा नगरपालिका कार्यालयमा धर्ना दिएका हुन्।
शिक्षक महासंघले निर्धारण गरेको पुर्व घोषित आन्दोलनका दोस्रो चरणको अन्तिम कार्यक्रम अनुसार गौरादह नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक, बाल शिक्षक र कर्मचारीहरु धर्नामा बसेका थिए। गौरादह नगरपालिकाको सातौं नगरसभाले शिक्षा क्षेत्रमा बिनियोजित ३२ लाख रुपैयाँ कटौती गरेपछि शिक्षा क्षेत्रका कार्यक्रमहरु प्रभावित बनेको भन्दै बजेट कटौती सच्याउन माग गर्दै शिक्षक महासंघ आन्दोलनमा उत्रिएको हो।
शिक्षक महासंघले स्थानीय सरकार समक्ष १३ बुदे माग अघि सारेको छ।शिक्षक महासंघले बाल शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिकलाई पहिलो प्राथमिकतामा राखेको छ। स्थानीय सरकारले तल्लो तहमा न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी र बाल शिक्षकका लागि बिनियोजित गरेको बजेटलाई खोसिनु बिडम्बना भएको बताएका छन्। शिक्षक महासंघले श्रम ऐन अनुसार पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, नगर शिक्षा योजना निर्माण , बाल शिक्षक र कर्मचारीहरुको भत्ताको निर्णय कार्यान्वयन, विद्यालयमा कक्षागत दरबन्दी कायम लगायतका माग राखि आन्दोलन गरिरहेको छ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक महासंघ गौरादह नगर अध्यक्ष बाबुराम भण्डारीले स्थानीय सरकारले शिक्षकका माग सम्बोधन गर्न आनाकानी गरेर शिक्षा क्षेत्रलाई अवहेलना गरेको बताए। विद्यालयमा काम गर्ने बाल शिक्षक र कर्मचारीले स्थानीय सरकारबाट पाउने सुविधा कुनै हालतमा खोसिनु नहुने बताए। स्थानीय सरकारले माग सम्बोधन नगरे थप कडा आन्दोलन घोषणा गरि संचालन गरिने तर आन्दोलन नरोकिने जानकारी गराए।
शिक्षक महासंघ उपाध्यक्ष बिष्णु लुइँटेलले स्थानीय सरकारले शिक्षकका माग सुनुवाइ गर्न नचाहेकाले आन्दोलनमा जानू परेको धारणा राखेका थिए।कार्यक्रममा शिक्षक संगठनका गौरादह नगर अध्यक्ष लिला गौतम, शिक्षक संघ नगर उपाध्यक्ष झगेन्द्र खड्का, कर्मचारीका जिल्ला अध्यक्ष छबिलाल दवाडी, बाल शिक्षक पबित्रा सिबा लगायतले आ-आफ्नो धारणा राखेका थिए। शिक्षक महासंघ सह-सचिब रुद्र धमलाले कार्यक्रम संचालन गरेका थिए।







