गौरादह, २१ फागुन २०७७ । सशस्त्र प्रहरी बलले दमकको रतुवा बगरबाट सालको काठ बरामद गरि वन कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल ३८ नम्बर रिजर्भ गणबाट खटिएको सशस्त्र प्रहरी बलले दमक-७ बाट सालको काठ बरामद गरेको हो। सशस्त्र प्रहरी बलका इन्सपेक्टर दिनेश आचार्यको कमान्डमा खटिएको टोलिले अनुमानित ७० क्युफिट सालको काठ टुना बनाएको अवस्थामा गोलाई काठ फेलापरेको हो।
दमक-७ को रतुवा खोलाको बगरमा नमुना सुकुम्बासी बस्ती पछाडि तस्करहरुले सालको रुख ढालेर ५ ओटा टुना बनाएर छोडेका थिए। सालको रुखलाइ बनबाट काटेर ल्याई तस्करहरूले नापेर ठिक्कका टुना बनाई अन्यत्र लैजान तयार पारेको सशस्त्र प्रहरीले अनुमान गरेको छ। रुखलाई काटेर लैजान तस्करहरुले रुख ढालेर टुना बनाई लैजाने अवस्थामा फेला पारेको थियो।
सशस्त्र प्रहरी बलको ३८ नम्बर रिजर्भको टोली गस्तीका क्रममा जाँदा सालको रुख लडाएर टुना बनाएको अवस्थामा देखेपछि काठ बरामद गरेको हो। बरामद गरिएको काठ वन कार्यालय दमकमा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक विकास न्यौपानेले जानकारी गराए।






