झगेन्द्र खड्का
गौरादह, १४ फागुन । शिक्षा क्षेत्रको बजेट कटौतीको बिषयलाई लिएर आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ गौरादहले नारा जुलुस सहित नगरपालिकामा बिरोध प्रदर्शन गरेको छ। गौरादह नगर कार्यपालिकाले शिक्षा क्षेत्रमा बिनियोजित गरेको बजेट मध्ये ३२ लाख कटौती गरेपछि शिक्षकहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका हुन।
आन्दोलन गौरादह नगरपालिका भित्र रहेका ३२ वटा बिद्यालयका शिक्षक, बाल शिक्षक र कर्मचारीहरु र्यालीमा सहभागी भएका थिए। गौरादहको जनता मा.वि. मा शिक्षक तथा कर्मचारीहरु भेला भई प्लेकार्ड बोकि नारा जुलुस सहित बजार हुँदै डिपु चौक निस्किएर नगरपालिकामा कोणसभा गरेको थिए।
आन्दोलनमा सहभागी शिक्षकहरुले बाल शिक्षक तथा कर्मचारीहरुको श्रम ऐन अनुसार पारिश्रमिक सुनिस्चित गर, नगर शिक्षा योजना निर्माण गर, बाल शिक्षक र कर्मचारीहरुको भत्ताको निर्णय कार्यन्वयन गर, शिक्षकहरुका १३ बुदे माग पूरा गर, विद्यालयमा कक्षागत दरबन्दी कायम गर लगाएतका प्लेकार्ड बोकेका थिए।
गौरादह नगर कार्यपालिकालाई शिक्षक महासंघले फागुन ९ गते छलफलका लागि आमन्त्रण गरेपनि कार्यपालिकाका पदाधिकारी अनुपस्थित भई शिक्षा क्षेत्रमा बेवास्ता गरिरहँदा शिक्षकहरुले नारा जुलुस सहित बिरोध जनाएर नगरपालिकामा आफ्नो बलियो उपस्थिति जनाएका छन्। नगरपालिकाले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर सुधारका नयाँ कार्यक्रम ल्याउनु पर्नेमा बिनियोजित गरेको बजेट समेत कटाएर पठनपाठन कार्यमा अस्तब्यस्त पार्न खोजेको भन्दै शुक्रबार विद्यालयको पठनपाठन बन्द गरि आन्दोलनमा उत्रिएका हुन्।
नगरपालिकाको प्रांगढमा सम्पन्न कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले शिक्षक महासंघले राखेका १३ बुदे माग नगरपालिकाले पूरा गर्नुपर्ने बताएका छन्। शिक्षक महासंघले राखेका माग पूरा नभए विद्यार्थी सहित शिक्षकहरु नगरपालिकामा उपस्थित भएर तालाबन्दी सम्मका कठोर कार्यक्रम गर्ने समेत चेतावनी दिएका छन्।
नगरपालिकामा भएको कोणसभामा बोल्दै शिक्षक महासंघ गौरादह नगर अध्यक्ष बाबुराम भण्डारीले आन्दोलन रहर नभई बाध्यता भएको बताएका छन्।शिक्षक महासंघले शिक्षा क्षेत्रको बजेट कटौतीको बिषयमा शिक्षक महासंघले सबैपक्षलाई जानकारी गराई चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेपनि नगरपालिकाले कुनै चासो नदेखाएकाले महासंघ आन्दोलन गर्न बाध्य भएको धारणा राखेका हुन्। नगर कार्यपालिका बजेट कटौतीको बिषयमा नसचिए शिक्षकहरुले कडा कदम चाल्न बाध्य हुनुपर्ने र नगर कार्यपालिकाले ठूलो मूल्य चुकाउनु पर्ने बताए।
जनता मा. वि. का प्रधानाध्यापक हरी प्रसाद अधिकारीले नगरपालिकाले शिक्षकहरुका मागलाई बेवास्ता गरि कोभिड तथा अन्य कुनै बाहाना बनाएर शिक्षाको बजेट कटौती गर्न नमिल्ने धारणा राखेका थिए।
प्रगति मा.बि.का प्रधानाध्यापक डिल्लीराम अधिकारीले अन्य पालिकामा बाल शिक्षक र कर्मचारीलाई प्रोत्साहन भत्ता दिन मिल्दा गौरादहले कटाउन नमिल्ने धारणा राखेका थिए।
शिक्षक डण्डीराज घिमिरेले यस नगरपालिकाको बजेट अन्य पालिकाका योजनामा बिनियोजन गरेर दिन मिल्ने तर यसै नगरपालिकामा सेवा गर्ने बाल शिक्षक र कर्मचारीलाई बिनियोजित गरेको बजेट कटौती गर्नु बिडम्बना भएको धारणा राखेका थिए।
नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष लिला गौतम, नेपाल शिक्षक संघ नगर अध्यक्ष रत्न कटुवाल, बाल शिक्षक भगवती भण्डारी र कर्मचारी हरी ढकाल लगाएतले सभामा बोलेका थिए। शिक्षक महासंघ नगर सचिब पुन्य मिश्रले कार्यक्रम संचालन गरेका थिए।






