झापा, ९ फागुन २०७७ । सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले झापामा एकै पटक पाँच वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना गरिएको छ ।
योसँगै जिल्लामा सशस्त्र प्रहरीको बिओपीको सङ्ख्या १७ पुगेको छ । मेचीनगर नगरपालिका— ५ स्थित नकलबन्दामा आइतबार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनी पति डिआइजी वंशीराज दाहाल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेती र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नकलबन्दासहित पाँच वटा बोर्डर आउट पोस्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सोही उद्घाटन समारोहमा डिआइजी दाहालले मेचीनगर नगरपालिका(१ स्थित तिरीङ, भद्रपुर नगरपालिका(३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको उद्घाटन भएको घोषणा समेत गरेका थिए । प्रत्येक बिओपीमा प्रहरी निरीक्षक वा प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी खटाइने जनाइएको छ । यसअघि झापाको बाहुनडाँगी, काँकडभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्ज, घेरावारि, कुञ्जीवारि, भद्रपुर र पृथ्वीनगर गरी १२ वटा बिओपी स्थापना भइसकेको छ ।
सीमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले २०७६ मङ्सिर ३० गते देशभरि १ सय १४ वटा नयाँ बिओपी थप्ने निर्णय गरेको र सोही निर्णय बमोजिम झापामा यसबर्ष आठ वटा बिओपी स्थापना गरिएको डिआइजी दाहालले जानकारी दिए । प्रदेश नम्बर १ मा ५० वटा बिओपी पुर्याउने लक्ष्य रहेकोमा अब तीन वटा बिओपी बाँकी रहेको उनले बताए । हालसम्म प्रदेश नम्बर १ का सीमा क्षेत्रमा ४२ वटा बिओपी स्थापना भइसकेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपालले झापामा ८ वटा बिओपी स्थापना गर्ने लक्ष्य लिएको र यसै आर्थिक वर्षमा यसअघि तीन वटा र बाकी पाँच वटा आज स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । हरेक बिओपी चार किलो मिटरको दुरी रहेको उनले बताए । बिओपी स्थापना भएसँगै जिल्लाको १ सय ४४ दशमलव २ किलोमिटर खुला सीमाबाट हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी, सीमा अतिक्रमण जस्ता गतिविधि न्यूनीकरणका आउने विश्वास लिएको उनको भनाई छ ।






