Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

गौरादह, ९ फागुन २०७७ । झापाको गौरादहमा वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवनको आज(आइतबार) उद्घाटन गरिएको छ । गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले नवर्निमित भवनको उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटनका क्रममा प्रमुख शाहले वडा कार्यालयको आफ्नो भवन नहुँदा सजिलो छिटो छरितो तरिकाले कार्यालयमा आउने सेवाग्राहीलाई सेवा सुविधा दिन गाह्रो भइरहेको बेला नवनिर्मित आफ्नै भवनमा अब सेवाग्राहीलाई सेवा लिन सजिलो हुने बताउनुभयो ।

वैशाख भित्र बाँकी रहेका ४, ८ र ९ नं. वार्डको भवनको निर्माण कार्य सम्पन्न भएर आफ्नै भवनमा कार्य सञ्चालन गरिने, अरु विभिन्न पूर्वाधारको विकासको लागि अघि बढ्ने, अत्यन्तै व्यवस्थित तरिकाले सेवाग्राहीको कुरा सुन्ने, चाँडो भन्दा चाँडो जनताको काम गर्ने सोंच रहेको बताउनुभयो ।

यस्तै, स्थानीय सरकारले जनताको गुनासा सुन्ने, शैक्षिक सुधार गर्ने, बालबालिकाको क्षेत्रमा, महिलाको हकहितको क्षेत्र लगायतका कुराहरुमा, यस्तै, सेवाग्राहीको सहजताका लागि कार्यालयहरुमा अनलाइन प्रणाली, कम्प्युटराइज, डिजिटलाइज सिस्टमका लागि स्थानीय सरकार लागि परेको प्रमुख शाहले बताउनुभयो । कृष्णे घाटमा व्यवस्थित मलामी घाट, आधारभुत स्वास्थ्य चौकी, बाटो निर्माण कार्य लगायतको कार्य गर्न लागिएको बताउनुभयो ।

गौरादह-२ को हिमाल चोक स्थित एक कठ्ठा जग्गामा ४ वटा कोठा भएको सो एकतले भवन रु.८५ लाखको लागतमा निर्माण भएको वडा नं. २ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति हेमन्त कार्कीले जानकारी दिनुभयो । भवन निर्माण कार्यका लागि प्रदेश १ बाट १५ लाख बजेट र गौरादह नगरपालिका बाट ७० लाख बजेट प्राप्त भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

भवन निर्माणका लागि सोहि वार्डका जग्गादाता.गंगादेवी घिमिरेले २ कठ्ठा १० धुर, कुशहरि दाहालले १ कठ्ठा १० धुर र कविन्द्र दाहालले १ कठ्ठा १० धुर गरि ५ कठ्ठा जग्गा दान दिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । सो अवसरमा जग्गादाता गंगादेवी घिमिरे मात्र उपस्थित हुनु भएकोले वहाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

वि.सं २०७५ असार ९ गते शिलान्यास भएको सो भवनको निर्माण कार्य तोकिएको समयभन्दा एक महिना अगाडि नै सम्पन्न भएको जनाइएको छ । वडाको सम्पूर्ण कार्य आजदेखि नयाँ भवनमा सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । यसअघि वडा कार्यालयले भाँडा घरमा कार्य सञ्चालन गर्दा काम गर्न समस्या उत्पन्न भएकाले आफ्नै नयाँ भवनबाट सेवा सुचारु गर्न पाउँदा खुसी लागेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया