काठमाडौँ, ६ फागुन २०७७ । राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिता विवाद टुंग्याउन निर्वाचन आयोगले ढिला गरेपछि दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरुले शुक्रबार नागरिकता बोकेर निर्वाचन आयोग जाने तयारी गरेका छन् । बहुमत सदस्य आफूहरुसँग हुँदाहुँदै पनि आयोगले निर्णय दिन आनाकानी गरेको भन्दै दाहाल नेपाल समूहका केन्द्रीय सदस्य आयोग जाने तयारी गरेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग जाने तयारी भए पनि समय एकीन नभएको बताए । केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायका अनुसार नागरिकतासहित शुक्रबार मध्यान्ह १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा जम्मा हुने सूचना आएको छ ।
यसअघि आयोगले माघ १२ मा नेकपाका दुवै समूहलाई आधिकारिता दिन नसकिने निर्णय सुनाएको थियो । त्यसपछि दाहाल-नेपाल समूह दल विभाजन सम्बन्धी निवेदन लिएर माघ २० मा आयोग पुगेको थियो । तर, आयोगले नेकपा विवादलाई थाती राखेर निर्वाचन तयारी थालेपछि दाहाल नेपाल समूह पुनस् आयोग जाने तयारी थालेको हो ।
पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ थियो । यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दाबी गर्दै २८७ जनाको नाम बुझाएको छ । आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्न थालेको समाचार प्रकाशमा आएकै बेला दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आयोग जाने तयारी गरेको हो ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलगत्तै नेकपा राजनीतिक रुपमा विभाजित भएको थियो । तर, दुई महिना बित्दा पनि आयोगले यसबारे कानुनी र आधिकारिकताको निर्णय लिएको छैन ।






