काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन र सभामा देशभरिबाट जनसहभागिता देखियो । शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो ।

संसद विघटनपछि पुस १४ र माघ ९ गते पनि प्रदर्शनसहितको सभा गरेको प्रचण्ड-माधव समूहले बुधबार गरेको तेस्रो सभा हो । त्यस्तै माघ २३ गते नेकपाकै केपी ओली समूहले काठमाडौंमा गरेको सभाको जवाफमा यो सभा गरेको पनि प्रचण्ड माधव समूहका नेताहरुले बताएका छन् । नेकपाको दुई समूहबीच आधिकारिकताको विवाद र अदालतमा संसद विघटनको मुद्दा सुनुवाइ भइरहेका बेला दुबै समूहले सभामा उपस्थितिका आधारमा आधिकारिकता दावी गर्दै आइरहेका छन् । अनलाइनखबरबाट
















