Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १६ पुष २०७७ । गुप्तचरी संयन्त्र भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । गुप्तचरलाई फोन ट्यापिङ गर्ने कानुनी अधिकार छैन । तर, विभागले गैरकानुनी रुपमै ट्यापिङ शुरु गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष मातहतमा रहेको विभागले कानुन नबन्दै फोन इन्सरसेप्सनको अन्तिम तयारी गरिरहेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराएका थिए । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको सो विद्येयकमा गुप्तचर संयन्त्रले ‘फोन–ट्यापिङ गर्न पाउने’ प्रस्ताव गरिएको छ । तर, सो विद्येयक पारित भैसकेको छैन ।

अरु देशका गुप्तचर संयन्त्रको प्रतिगुप्तचरीको सिलसिलामा सन्दिग्ध र निगरानीमा रहेकाहरुको फोन इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने कानुन बनाउन प्रस्ताव गरिएको छ । ‘इन्टरसेप्सन’ सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्ने काम हो । तर, नेपालको मौजुदा कानुनले सो कामलाई ‘गैरकानुनी’ भनेको छ ।

मौजुदा कानुनअनुसार अदालतको आदेशमा मात्र टेलिफोन सेवा प्रदायकसँग फोनसम्पर्क र लोकेशनको सूचना माग्न सकिन्छ । प्रस्तावित विद्येयकमा चाहिँ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको स्वीकृतिमा अनुसन्धान अधिकृतले मागेको विवरण, संकेत वा सुचना सेवा प्रदायक कम्पनीले अनिवार्य उपलब्ध गराउनुपर्ने ‘बाध्यात्मक’ कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ ।

केपी ओलीको क्याविनेटबाट भर्खरै राजीनामा दिएका निवर्तमान मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्रीको आदेशमा गुप्तचरले नेताहरुको फोन ट्यापिङ गरिरहेको दाबी गरेका छन् ।

यसबीच, कोरोना महामारीका कारण मुलुकमा लकडाउन भइरहेको बेला राष्ट्रिय अनुसन्धान विभागले सुटुक्क इन्टरसेप्सन मेशिन खरिद गरेको छ । ईजरायलसँग जिटुजी (सरकारसँग सरकारले किन्ने) बिधिअनुसार ४० करोडमा मेशिन खरिद गरिएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले बताए ।

गत असारमा खरिद गरिएको सो मेशिन प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलिसँगको सहकार्यमा सिंहदरबारस्थित राअबी मुख्यालयमा जडान गरिएको छ । दुई महिना लगाएर जडान गरिएको मेशिन अहिले अपडेटिङ स्टेजमा छ ।

विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीले फोन ट्यापिङ सिस्टमको मनिटरिङ गर्ने गरेका छन् । ‘ईन्जिनियरले चलाएको नोटिफिकेशन मुख्य अनुसन्धान निर्देशककको कम्युटरमा आउने गरी सेटिङ गरिएको छ,’ विभागका एक अधिकृतले भने ।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया