Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १३ पुष २०७७ । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ ।

कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया सुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशमा रहेका नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी सुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रति मेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो अहिले आयात भइरहेको मलको तुलनामा प्रति मेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो ।

’विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै १० करोड नेपाली रुपैयाँ बचत हुन्छ’, उनले भने । युरिया मलको ढुवानी हुनु दुई देशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन ।

नेपाललाई ५० हजार मेट्रिकटन मल चाहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको हो । मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हुँदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा मिश्रले जानकारी दिए ।

सरकारले गएको अप्रिलदेखि बङ्गलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । त्यहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्णरुप लिएको छ ।

सुरुमा पैँचो ल्याउने गरी छलफल भएको थियो । पैँचोको भुक्तानी कसरी गर्ने भन्ने कुरा प्रशासनिक तहमा छलफल हुँदा समस्या आउने देखिएपछि प्रक्रिया नयाँ चरणमा जानुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया