Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भद्रपुर, ९ पुष २०७७ । प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियान अन्तरगत आजदेखि झापा सडक आश्रित मानवरहित जिल्ला घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन)सडक मानवहरूको उद्धार गरी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने अभियान अन्तरगत पहिलो चरणमा झापा सडक मानवमुक्त जिल्ला घोषणा भएको हो ।

अभियान अन्तरगत जिल्लाका सडकमा रहेर जीविकोपार्जन गर्दै आएका ७६ जनालाई मानव सेवा आश्रममा पुनर्स्थापना गरिएको छ । जिल्लाको मेचीनगर नगरपालिकाका २९ , कनकाई नगरपालिकाका १५ , दमक नगरपालिकाका १३, बिर्तामोड नगरपालिकाका ७ , गौरीगञ्ज गाउँपालिकाका ५ जना, बुद्धशान्ति गाउँपालिकाका ४ , भद्रपुर नगरपालिकाका ३ गरी ७६ जनालाई सडक मानवको पुनर्स्थापना गरिएको हो ।

सरकारले सडक मानवमुक्त मुलुक घोषणा अभियानअन्तर्गत मानव सेवा आश्रमको सहयोगमा यो कार्यक्रम सुरु गरिएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । प्रदेश –१ को झापा, मोरङ र सुनसरीको सडक पेटीमा रहँदै आएका मानिसको उद्धार कार्यक्रम आजबाट सुरु भएको उनले बताए ।

त्यस्तै मानव सेवा आश्रमले बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवहरूको अवस्था अध्ययन तथा वितरण सङ्कलन, उद्धार औषधोपचार, पालनपोषण, जीविकोपार्जन सम्बन्धी तालिम, पारिवारिक पुनर्मिलन र परिवारमा पुनर्स्थापना हुन नसकेका बेसहाराहरूको दीर्घकालिक संरक्षण गर्दै आएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
आश्रमले अहिले विराटनगरमा दुई वटा घर भाडामा लिएर उद्धार गरिएका मानिसलाई राख्दै आएको बताउँदै अध्यक्ष अधिकारीले भने, ‘घर भाडा विराटनगर महानगरपालिकाले तिर्दै आएको छ, चालू आर्थिक वर्षमा नै प्रदेशस्तरीय मानव सेवा भवन निर्माण गर्छौ ।’

त्यसैगरी प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले झापाको काँकडभिट्टादेखि दमकसम्मको सडकमा भोको पेटसहित भौँतारिएका नागरिकलाई आश्रमले पुनर्जीवन दिएको बताइन् । सरकारले लिनुपर्ने सडक मानवको अभिभावकत्व मानव सेवा आश्रमले लिएको भन्दै उनले आश्रमको प्रशंसा समेत गरिन् । सडक मानवमुक्त मुलुक घोषणा गर्ने अभियानमा मानव सेवा आश्रममाथि भरोसा रहेको उनको भनाई छ । कनकाई नगरपालिकाको खानेपानी कार्यालय आयोजित कार्यक्रममा नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी, उपमेयर पवित्रा प्रसाईँ, मेचीनगर नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईँ, दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायतको सहभागिता रहेको थियो ।टाइम्सअफ प्रदेश

 

तपाईको प्रतिक्रिया