Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भद्रपुर,८ पुष २०७७ । चोरीको सिटी तयारी चिया खरिद गर्ने एक पसलमा प्रहरीले छापा मारेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली भद्रपुर नगरपालिका-४ फुटानीचोकस्थित भीमसेन राजवंशीको किराना पसलमा छापा मारेर अन्दाजी २० लाख बढीको तयारी सिटी चिया बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले त्यहाँबाट ३० केजी तौल भएको २३३ बोरा तयारी चिया र १६९ वटा खाली बोरा बरामद गरेको हो। ६ हजार ९९० केजी चियाको बजार मूल्य २० लाख ९७ हजारको रहेको बताइएको छ।

प्रहरीले चिया चोर्ने र खरिद गर्ने तीन जनालाई नियन्त्रणमा समेत लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर चालक भद्रपुर नगरपालिका ४ बस्ने २८ वर्षीय सानु राजवंशी, सोही ठाउँका ट्याक्टर चालक २७ वर्षीय ललित राजवंशी र पसल सञ्चालक ४१ वर्षीय भीमसेन राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यता भद्रपुर-७ स्थित पराजुली टी स्टेट उद्योगका सञ्चालक आदित्य पराजुलीका अनुसार मेचीनगर नगरपालिका(२ स्थित नेपा टी इण्डष्टिजमा उत्पादित तयारी चिया प्याकिङ गरी त्यहाँबाट पराजुली टी स्टेटसम्म चलाउने गरिन्छ। दुवै उद्योग आफ्नै हो।

त्यहाँबाट ल्याउने क्रममा चालकले बाटोमै चियाका बोरा चोरी गरेर बिक्री गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेको हो। ‘ट्याक्टरमा लोड गरेर ल्याएको चियाको गन्ती गरिँदैन थियो,’ उनले भने, ‘त्यसैको फाइदा उठाउँदै चालकले चिया चोरी गर्दै आइरहेका थिए।’

चिया चोरी भएको विषयमा स्थानीयले जानकारी गराएपछि मात्र आफूले थाहा भएको उनको भनाइ छ। उद्योगको चिया कहिले देखि चोरी हुँदै आइरहेको थियो त्यसको भने यकिन जानकारी नभएको बताउँदै उनले भने, ‘प्रहरीसहितको टोली लिएर पसलमा छापा मार्दा ठूलो परिमाणको चिया बरामद भयो।’

प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई छाडिदिएको छ। उद्योगीले जाहेरी नदिएपछि छाडिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए। उद्योगी र उनीहरू एक आपसमै मिलेर गएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया