Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ७ पुष २०७७ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश नम्बर १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ ।

“संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर” भन्ने उदेश्यका साथ प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर (विश्वकर्मा)ले भद्रपुर नगरपालिकालाई प्रदेश एकको पहिलो र देशकै पाँचौ बालमैत्री नगर घोषित गरेका हुन् । साथै राज्यमन्त्री गमजेर र जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई बालमैत्री घोषणा भएको कदरपत्र प्रदान गरेका थिए ।
२०७४ साल मङ्सिर ३ र ४ गतेबाट नगरपालिकाले बालमैत्री अवधारणा अवलम्बन गरी रणनीतिक कार्य योजनाका साथ घोषणा उन्मुख अभियान सञ्चालन गरेको नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिए ।

बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम सरकारले निर्धारण गरेको ३९ सूचकहरु पूरा गरी अभियान सफल बनाइएको उनको भनाई छ । भद्रपुर ६ स्थित सिटी गार्डेन होटलमा मंगलबार आयोजित घोषणा समारोहमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका व्यक्ति तथा बालबालिकाहरुलाई सम्मान गरिएको थियो ।

सम्मानसँगै पुरस्कृत हुनेमा बालमैत्री अभियन्ता बिर्तामोडका सुमन ढकाललाई नगर ५१ हजारसहित सम्मान गरिएको थियो । त्यस्तै बालबालिकाको क्षेत्रमा कलम चलाउने पत्रकार तथा नौलो आवाज सप्ताहिकका सम्पादक दीपक अधिकारीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधान र भद्रपुरका कृष्ण अनमोललाई नगद ५-५ हजारसहित सम्मान गरिएको थियो । साथै सोही अवसरमा भर्खरै मेची–महाकाली साइकलयात्रा पुरा गरेकी भद्रपुरकी श्वेता श्रेष्ठ र भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेललाई सम्मानपत्रले सम्मान गरेका थिए ।
नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा राज्यमन्त्री गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बालमैत्री घोषणाको बारेमा जानकारी गराएका थिए ।

समारोहमा प्रदेशसभा सदस्य सन्त बानियाँ, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नै क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर नगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवम् इलामको चुलाचुली गाउँपालिकाका र्तमान प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया