Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३ पुष २०७७ । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।

शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण सुरु गरेका हुन ।

कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ ।

शुक्रबार सहयोग रकम पाउनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु भएका एक जनाको व्यक्तिका परिवार छन ।

सबैले प्रति परिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम पाएका हुन । चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए ।

आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथि पनि भएको अध्यक्ष ढकालले बताए ।

आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो ।

यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।

 

तपाईको प्रतिक्रिया