Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २७ मंसिर २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ ।

नेपाल–भारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा समाधान गर्ने पहल शुरु भएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच विवाद रहेको छ । शुरुमा त्यो क्षेत्र समेटेर भारतले नक्सा बनायो भने पछि नेपालले पनि आफ्नो भूभाग भन्दै सो क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गर्यो । नयाँ नक्सा सार्वजनिक गरेर नेपालले संविधान संशोधन पनि गर्यो ।

सोही प्रकरणमा नेपाल र भारतबीच दुरी बढेपनि पछिल्लो पटक समस्या समाधानका लागि पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीकै भारत भ्रमणको चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओली यसअघि दोस्रो पटक प्रधानमन्त्री भएसँगै २०७४ चैतमा भारत भ्रमणमा गएका थिए ।

भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको छ । ‘सीमा विवाद समाधानका लागि दुवै देश गम्भीर भएका छन्, त्यसैका लागि भारतकोतर्फबाट उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्’, स्रोतले भन्यो, ‘सम्बन्धलाई अझै सुधार गर्न प्रधानमन्त्री अ‍ोलीले पनि भारत भ्रमण गर्न चासो देखाएका छन् ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने बताइएको छ । मन्त्री ज्ञवालीको भारत भ्रमणमा जाने तयारी भइरहेको छ । नेपाल–भारतबीच विभिन्न तहमा छलफल भइरहेको र त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीको भारत भ्रमण हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया