Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ मंसिर २०७७ । सरकारले प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न थालेको छ । अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ ।

भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप कडाइ गर्न अध्ययन पनि थालेका छन् ।

गृह मन्त्रालयले भिजिट भिसामा जाने श्रमिकलाई रोक्नेबारे अध्ययनसहित सिफारिस गर्न उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक कार्यदल नै बनाएको छ । अध्यागन विभागले पनि स्वतःस्फूर्त रुपमा श्रमका लागि भिजिट भिसा लिएर जानेलाई रोक्नका लागि भन्दै आन्तरिक गृहकार्य थालेको बताएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी अब भिजिट भिसामा जानेलाई आवधिक बिमा अनिवार्य गर्नेबारे छलफल भइरहेको बताउँछन् । उनका अनुसार स्थानीय तहको सिफारिस पत्र र भ्रमणको भिसाबाहक व्यक्तिको परिवारको एकाघरको सदस्यको मञ्जुरीपत्र पनि अनिवार्य गर्नेबारे छलफल भइरहेको उनले बताए ।

अहिले होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर बोकेकालाई त अध्यागमनले रोक्न पनि सक्दैन । यसरी जानेहरुमाथि शंका लागेमा अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्न सक्छन् । तर, अध्यागमनमा कडाइ नगरिँदा भिजिट भिसामा श्रमिक विदेश पु¥याउने क्रम बढेको छ ।

कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नुपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् ।

 

तपाईको प्रतिक्रिया