Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, २३ मंसिर २०७७ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेका हुन् ।

पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

तपाईको प्रतिक्रिया