Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, १८ मंसिर २०७७ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो ।

स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

व्यवस्थापन सङ्कायका डीन प्रा।डा। डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो । प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।

डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिनुभयो । विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उहाँको भनाइ छ ।

यस्तै, अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया