Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १७ मंसिर २०७७ । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो ।

सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए ।

गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।”

सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए ।

दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो । दशैँ–तिहारपछि सेवाग्राहीको चाप कम भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ ।

प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ ।रासस

तपाईको प्रतिक्रिया