Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, १६ मंसिर २०७७ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए पनि ‘सुरक्षा थ्रेट’ देखाएर बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो ।

यद्यपि सचिवालयका एक सदस्यले सुरुमै महासचिव विष्णु पौडेलले धुम्बाराहीको बैठक बालुवाटार बस्न अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेको तर, दाहालले अस्वीकार गरेपछि ‘सुरक्षा थ्रेट’ देखाएर बैठक सारिएको बताए ।

उनका अनुसार अध्यक्ष दाहालले मंगलबार बिहान महासचिवमार्फत बैठक पार्टी कार्यालयमै बस्नुपर्ने अडान राखेका थिए । तर, केही समयपछि महासचिव पौडेलले गृह मन्त्रालयको सुझावअनुसार बैठक सार्नुपरेको सूचना अध्यक्ष दाहालसहित सचिवालयका अन्य सदस्यहरु दिएका थिए ।

यसअघि शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा आएर धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सार्दा सचिवालय अन्य सदस्यले असन्तुष्टि जनाएका छन् ।

बैठकका कार्यसूचीमा कार्तिक २८ मा कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव र मंसिर १३ मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि छलफल हुने भएको छ ।

प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा उठाएका विषयबारे आजको बैठकमा दाहालले लिखित रुपमा नै जवाफ दिने सम्भावना रहेको सचिवालयका ती नेताले जानकारी दिए । तर, स्थायी कमिटीमा जाँदा आजको बैठकमा उठेका विषयहरुलाई समेत समेटेर दाहालले पूरक प्रतिवेदन नै पेस गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले दाहालको प्रस्ताव सचिवालयमा छलफल गर्न योग्य नभएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । तर, अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यले दुवै प्रस्तावमाथि सचिवालयमा सामान्य छलफल गरेर मंसिर १८ मा बस्ने स्थायी कमिटीमा लैजाने तयारी गरेका छन् । स्थायी कमिटीमा बहुमतले निर्णय गरेर त्यसको अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी छ ।

ओली समूहले दाहालको प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाएर मात्रै स्थायी कमिटीमा जानुपर्ने अडानमा छ । यस्तोमा आजको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया