Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पत्रपत्रिकाबाट
काठमाडौँ, २४ कार्तिक । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ ।

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो ।

पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।

‍पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समिति सम्बन्धका माग राखेको छ ।

पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेताहरूको समूहलाई समायोजन गर्ने नाममा क्रियाशील सदस्यता ‘मनपरी’ वितरण गरेको आरोप लगाएको छ । प्रक्रिया र विधानविपरीत क्रियाशील सदस्यताको वितरण रोकिनुपर्ने पौडेल पक्षको माग छ । विधान र आचारसंहिताविपरीत विभाग गठन गरी सदस्य मनोनयन गरिएको भन्दै त्यस्तो निर्णय बदर हुनुपर्ने माग पनि पौडेल पक्षले उठाउँदै आएको छ ।

गठन भइसकेका केन्द्रीय विभाग विघटन गर्न शेरबहादुर देउवा तयार देखिएका छैनन् । क्रियाशील सदस्यता वितरणमा पनि विधानविपरीत नभएको दाबी संस्थापन पक्षले गर्दै आएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

 

तपाईको प्रतिक्रिया