Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, १६ कार्तिक । विशेषगरी तराईमा जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । भक्का चामलको पिठोबाट बनाइने परिकार हो । भाँडामा उमालिएको पानीको वाफबाट पिठो पाकेपछि स्वादिलो भक्का बन्छ ।

अधिकांश मानिसहरुले खाजाको रुपमा भक्का खान मन पराउने गरेका छन्।भक्का बिशेष गरि तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ। भक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको मौलिक खाजाको पहिचानको  रुपमा पनि लिइन्छ।

तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु लगाएतका आदिवासी समुदायहरुले जाडो लागेपछि भक्का बनाउने गर्दछन्। पानीको बाफमा पकाइने भक्का पाक्नसाथ तातै खाँदा स्वादिलो हुने भएकाले जाडोमा पकाइने गरेको हो।बिगतका बर्षमा झैं यसवर्ष पनि जाडो मौसम सुरु हुनसाथ झापाको दक्षिण क्षेत्रमा भक्का ब्यापार सरु भएको छ।

चौक तथा बजारमा भक्का पकाउन सुरु भएपछि मानिसहरु खाजाको रुपमा भक्का खान आउन थालेका छन्। जाडो मौसममा बनाइने भक्काले बिशेष गरि जनमजदुरलाई फाइदा भएको देखिन्छ। बिहान खाजाको रुपमा भक्का खाएर काम गर्न गएपछि आधा दिन सम्म काम गर्न सकिन्छ।चामलबाट बनाइएको पिठोलाई पानीको बाफमा पकाइन्छ। पिठोमा पानी बाहेक अरु केहीपनि मिसाइन्दैन।केही पनि नमिसाई पकाईने भएकाले सबैले भक्का खान रुचाउने गर्दछन्।

भक्का विहानको समयमा खाने भएकाले मानिसहरुको जमघट हुने स्थान, चिया पसलको अगाडि वा त्यसको आसपासमा भक्का पकाउने गर्दछन्।भक्कामा चिल्लो पदार्थ,मरमसला केहिपनि नमिसाईने भएकाले स्वास्थ्यका लागी समेत फाईदाजनक मानिन्छ।

भक्कामा मिसावट नभएका कारण स्वादका लागि भने खाने ब्याक्तिमा फरक पर्दछ।गुलियो मनपराउने ब्याक्तिहरुले चियासँग खाने गर्दछन। नुनिले मनपराउनेहरुले धनियाको अचार वा नुन खुर्सानी सँग खाने गर्दछन्।नास्ताको रुपमा खानेहरुले चनाको तरकारी सँग खाने गर्दछन्।बिशेष गरि केटाकेटीहरुले अचार वा नुन खुर्सानी सँग खाने गरेको पाईन्छ।बुढापाकाहरुले चियासँग भक्का खान रुचाउछन्।काम गर्न जानेहरुले चनाको तरकारी सँग भक्का खान रुचाउछन्।केही मानिसहरुले पकौडा सँग पनि भक्का खाने गरेका छन्।

प्राय सबै प्रकारका बिरामीहरुले समेत खान मिल्ने भक्का काम गर्नेहरुकालागि बढी उपयोगी भएको पाईन्छ।अन्य खाजाको तुलनामा भक्काको मुल्य सस्तो छ।सस्तो मुल्यमा पाईने र आधादिन सम्म सहजै काम गर्न सकिने भएकाले भक्कालाई खाजाको रुपमा खान मन पराउनेको संख्या बढी भएको पाईन्छ। बिद्यालय वा कलेज पढ्नजाने बिद्यार्थीहरुका लागि पनि खाजाको रुपमा भक्का उपयोगी हुने भएकाले बिद्यार्थीहरु पनि यसैमा आकर्षित हुने गरेका छन्।

झापाको दक्षिणी क्षेत्रका चौक तथा मुख्य बजारहरुमा जाडो महिना लागेपछि बिहान भक्का पकाउने गरिन्छ भने खानेहरुको पनि भिड लाग्दछ। दक्षिणी क्षेत्रका मुख्य बजारहरु गौरादह, ग्वालडुब्बा, गौरीगंज,दामुनाका साथै अन्य सानातिना बजार तथा चौकहरुमा पनि भक्का पकाई बिक्री गर्ने गरेका छन्।भक्काबाट धेरै कमई नभएपनि थोरै समयमा घर खर्च चलाउने आम्दानी हुने भएकाले यो ब्यबसाय गरेको गौरादह (७ पुरानो ग्वाल्डुब्बाकी भक्का ब्यबसायी अनिता राजवंशी बताउछिन्।

भक्का पकाउनका लागि साँझमा चामल भिजाएर बिहानका राति उठेर पिठो कुट्न केही समस्या भएपनि बिहान केही काम नहुने भएकाले समयको सदुपयोग हुनुका साथै घर खर्च चलाउने कमाई हुने भएकाले भक्का पकाएर बेच्ने गरेको गौरादह (७ कि अर्की भक्का ब्याबसायी कबिता माक्रा बताउछिन्।जाडो महिना भर्खर सुरुवात भएकाले अहिले दैनिक ५ के।जि।चामलको पिठोको भक्का बनाई बिक्री गर्ने गरेको बताईन्।जाडो बढेपछि दैनिक ८ देखि १० केजी चामलको पिठोको भक्का बिक्री हुने गरेको माक्रा बताउछिन्।कहिलेकाही भक्का पकाउन ढिलो हुदा भक्का खाने ब्याक्तीहरु भक्का पकाउने ठाँउमा पर्खेर बस्ने गरेको माक्राले बताइन्।

बिहान बिद्यार्थीहरु आउने समय र भक्का किनेर घरमा लगेर खानेहरु एकैपटक आएमा भक्का पकाएर दिन भ्याईनभ्याई हुने गरेको ग्वालडुब्बाकी भक्का ब्याबसायी अनिता राजवंशी बताउछिन्। भक्का सस्तो मुल्यमा आउने र अडिलो भएको कारण आधा दिन सम्म काम गर्न सकिने भएकाले अधिकांश मानिसहरुले खान मन पराउने गरेको पुराने ग्वालडुब्बाका जोगेश माक्रा बताउँछन्।आफुले पनि सँधै बिहान खाजाको रुपमा भक्का खाएर काम गर्न जाने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया