Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरीगंज, ३ कार्तिक । गौरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडक खण्डको गौरीगंज र खजुरगाछी बजार क्षेत्रमा सडक सम्याइएको छ।हुलाकी सडक निर्माणको जिम्मा पाएको मोतिदान कन्ट्रक्सन सेवाले बजार क्षेत्रका सडकमा भएका खाल्डाखुल्डी सम्याएको हो। निर्माणाधीन हुलाकी सडकमा माटो भर्ने कार्य भइरहेको समयमा लगातार वर्षा हुदा सडक हिलाम्मे भएको थियो।

सडक हिलाम्मे भएको समयमा ठूला तथा साना सवारीसाधन आवतजावत गर्दा सडकमा खाल्डा परेको थियो।सडक खाल्डाखुल्डी पर्दा आवतजावतमा समस्या भएपछि सवारी चालकहरुले बैकल्पिक सडक प्रयोग गर्दै आएका थिए।

हिन्दुहरुको महान पर्व बडादशैं,शुभदिपावाली, छठ पर्व नजिकिदै जादा मानिसहरुको चहलपहल बढ्ने र सवारीसाधनको आवतजावत बढ्ने भएकाले सहजताका लागि सडक सम्याइएको मोतिदान कन्ट्रकसनका प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए।

हुलाकी सडक क्षेत्रमा रहेका कल्भर्टहरु निर्माणकार्य सम्पन्न भइसकेकाले आवतजावतमा समस्या नरहेको मेनेजर श्रेष्ठले बताए। खजुरगाछी क्षेत्रमा खाल्डाखुल्डी पुरेर सडक सम्याउने क्रममा स्थानिय व्यवसायीहरूले समेत सहयोग गरेका थिए।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीको गौरीयाँ खोला पुलदेखि पश्चिम वार्ड नं. ६ को कार्यालय जाने मोडसम्म हुलाकी सडक खण्डमा माटो सम्याएर रोलर लगाइ थिचेर आवतजावतमा सहज बनाएका हुन्।

चाड पर्वकाबेला मानिसहरूको भीडभाड हुने क्षेत्र भएकोले दुर्घटनाको जोखिम न्युनिकरण गर्न र आवागमनमा सहजताका लागि सडक सुचरु गरिएको ठेकेदार कम्पनीका मेनेजर श्रेष्ठले जानकारी गराए।

तपाईको प्रतिक्रिया