Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, २९ असोज २०७७। झापा कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका अभिषेक चौधरीको हत्या अभियोगमा उनकै साथि पक्राउ परेका छन् । धारिलो हतियार(बञ्चरो) प्रहार गरी मारेको अभियोगमा कनकाई नगरपालिका-७ बस्ने वर्ष २२ को टल्के भन्ने रविन राजवंशीलाई पक्राउ गरेको हो ।

घट्ना असोज २७ गते रातको ९ः३० बजेको समयमा जिल्ला झापा कनकाई नगरपालिका-३ एकान्त टोल स्थित रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बिचमा भित्री सानो गोरेटो बाटोमा घटाइएको प्रेस नोटमा जनाइएको छ ।

कनकाई-३ स्थितमै बसोबास गर्ने हंस बहादुर चौधरीको छोरा २२ बर्षीय अभिषेक चौधरी हिजो (बुधबार) विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । चौधरी उत्तानो परी अनुहार टाउको भरि रगताम्मे चौटै चोट भई मृत अवस्थामा रहेको सूचना पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई-७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी आज ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो ।

अनुसन्धानका क्रममा मृतक अभिषेक चौधरीले हत्यारा रविन राजवंशीलाई १०० रुपैयाँ दिएर गाँजा लिन पठाएको र गाँजा ल्याइसकेपछि हामी सबै मिलेर खानुपर्छ भन्दा मृतक चौधरीले तँलाई दिन्न त के गर्छस भनि गाली गलौज गरी एक झापड हिर्काएको र निजसँग भएका अन्य साथीहरुले समेत कान तानी जिस्क्याउँदा टल्के भन्ने रविन राजवंशीले आफ्नै साथीभाईले हेपी अपमान गरेको महसुस गरी तत्कालै आफ्नो घरमा गई दाउराको थाकमा राखेको धारिलो बञ्चरो ल्याई सोही पुलमा आई निज मृतकलाई निगरानी गरी बसेकोमा मृतक रातको समयमा अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार ७ः४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको साबिति बयान समेत दिएका छन । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया