Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, २५ असोज । गौरादह नगरपालिका वडा नं-९ बैगुन्धुराले आर्थिक बर्ष ०७७।०७८ मा सडक बिस्तार र उच्च स्तरीय ग्राभेललाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाबाट वडालाई बिनियोजित वडा सिलिङ बजेटलाई शिक्षा, स्वास्थ्य,कृषि,पशु,खानेपानी, बिजुली बत्ती, लगायतका क्षेत्रमा बजेट बिनियोजन गरेपनि सडक संजाल बिस्तारलाई प्राथमिकतामा राखेको छ।

गौरादह नगरपालिकाबाट यस आर्थिक बर्षमा वडा नं -९ लाई १ करोड २० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। आर्थिक बर्ष ०७७।०७८ मा बिनियोजित वडा सिलिङ बजेटको ५८ प्रतिशत बजेट सडक संजालमा बिनियोजन गरेको छ।

वडाले सडक बाहेक अन्य बिधामा ४२ प्रतिशत बजेट बिनियोजन गरेको छ।क्षेत्रफलका आधारमा ठूलो र विकास निर्माणमा पछाडि परेको वडा भएपनि नगरपालिकाले बिनियोजन गर्ने सिलिङ बजेट भने अरु वडा सरहनै रहेको छ।

गौरादह नगरपालिका घोषणा भएसँगै साबिकको बैगुन्धुरा गाबिस नगरपालिकाको वडा नं ९ कायम भएको हो।सिङ्गै गाविस एउटै वडा बनेकाले क्षेत्रफलका आधारमा ठूलो वडाका रुपमा वडा नं -९ रहेको छ। बैगुन्धुरा गाविस भित्रका अधिकांस सहयक सडकहरु साँघुरा र ग्राभेल गर्न बाँकी रहेकाले त्यस्ता सडकहरुलाई बिस्तार गरि ग्राभेल गर्न वडाले प्राथमिकतामा राखेको छ।

साबिको बैगुन्धुरा गाबिस रहदा समेत सडक संजाल बिस्तार र ग्राभेलमा पछाडि परेको वडा नं -९ ले यस आर्थिक बर्षमा पनि सडक संजाल बिस्तार र ग्राभेल गर्ने कामलाई प्राथमिकतामा राखेको छ। वडा भित्र रेहेका सहायक सडकहरुलाई मुख्य सडक सँग जोडी सडक संजाल बिस्तार गरि बर्षादको समयमा पनि आवतजावतलाई सहज बनाउने लक्ष्य रहेको वडा नं -९ का वडाध्यक्ष सीताराम भट्टराई बताउँछन्।

वडा भित्र रहेका ग्रामीण क्षेत्रका साँघुरा सडकहरुलाई फराकिला बनाई ग्राभेल गरि एम्बुलेन्स र बारुणयन्त्र सहज रुपमा गाउँ बस्तीमा आवतजावत गर्न सक्ने सडक निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष भट्टराई बताउँछन्।

वडा सिलिङ बजेटबाट वडाले सडक संजाल बिस्तार बाहेक शिक्षा तर्फ बिद्यालयको भौतिक व्यवस्थापन र अतिरिक्त कक्षा संचालनमा बजेट बिनियोजन गरेको छ।मठमन्दिर व्यवस्थापन,शान्ति सुरक्षा,बिपत व्यवस्थापन,माटो परिक्षण,सामुहिक तरकारी तथा लसुन प्याज कुरिलो खेती, बेमौसमी तरकारी खेती, मोटर बोरिङ बितरण,ए आइ व्यवस्थापन,बोयर जातका बोका बितरण, लगायतका बधामा बजेट बिनियोजन गरेको वडा सचिब राम प्रसाद दहालले जानकारी गराए।

तपाईको प्रतिक्रिया