Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २५ असोज २०७७ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।

उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् । लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था नाजुक भएका डा.केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरकार र डा.केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा.केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा.दिव्यासिंह शाहमार्फत डा.केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा। दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

डा.केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत उनलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।कान्तिपुर

 

तपाईको प्रतिक्रिया