Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २३ असोज । जनता माध्यमिक विद्यालय गौरादह–१ का सेवानिवृत्त प्रधानाध्यापक बुद्धिमान कार्कीको बिदाई गरिएको छ ।
३५ बर्ष लामो शिक्षण पेशाबाट गत भदौ १ गते देखि उमेर हदका कारण अनिवार्य अवकास हुनु भएका कार्कीको आज एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिकको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र गौतमको सभापतित्वमा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवा निवृत्त प्रधानाध्यापक कार्कीको बिदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक शेरबहादुर कार्कीले बताउनुभयो ।

सेवा निवृत्त प्रधानाध्यापक कार्कीले वि.सं.२०४२ साल भदौ २४ गतेबाट शिक्षण पेशामा सेवा प्रारम्भ गरी अबिच्छिन्न ३५ बर्ष सेवा गर्नु भएको थियो ।

शिक्षण पेशामा प्रवेश गरेको ५ बर्ष पछि २०४७ साल बैशाख ६ गतेबाट वहाँले प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो । निरन्तर ०७७ श्रावण ३१ गते सम्म लगातार ३० बर्ष प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएका कार्की प्रधानाध्यापकको जिम्मेवारीमा रहदा नै सेवा निवृत्त हुनुभएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक महासंघ, सामाजिक विकास समिति, नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा विद्यार्थीहरु सहितको उपस्थितिमा आयोजित सो विदाइ तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले विद्यालयले तयार पारेको सम्मानपत्र, मायाको चिनो उपहार सहित, फूलमाला, खादा र दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरिएको थियो । सम्मान पत्र विद्यालयकी शिक्षक थानेश्वरी ढकालले बाचन गर्नुभएको थियो भने प्रमुख अतिथिले हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासको क्षेत्रमा सेवानिवृत्त प्रधानाध्यापक कार्कीले पुर्याउनु भएकोे महत्वपूण योगदानको उच्च सम्मान गर्दै कार्यक्रममा वक्ताहरुले वहाँको आगामी सेवानिवृत्त जीवनको सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

नगर शिक्षा शाखा गौरादहका प्रमुख टेकनाथ रेग्मी, सामाजिक विकास समितिका गौरादहका संयोजक मणिन्द्र कार्की तथा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार विकले सेवा निवृत्त प्रधानाध्यापक कार्कीको जीवनी व्याक्तित्व तथा भूमिकाको प्रसंसा गर्नुभएको थियो ।

शिक्षक महासंघ झापाको अध्यक्ष तथा शिक्षक संगठन १ नं प्रदेश कमिटीका अध्यक्ष समेत रहनु भएका सेवानिवत्त प्रधानाध्यापक बुद्धिमान कार्कीको नेतृत्व पाएको जनता माध्यमिक विद्यालय गौरादह–१ मा हाल कक्षा १२ सम्म प्राविधिक धार तथा साधारण धार तर्फ पठन पाठन हुन्छ ।

प्राविधिक धार संचालन गर्ने र बिज्ञान बिषय समूह पढाइहुने तथा विद्यालय नर्सिङ कार्यक्रम संचालन गर्ने जनता मावि गौरादह नगरपालिकाको एकमात्र विद्यालय हो ।

विद्यालयका सहायक प्रधानाध्यापक भानु ढुंगानाका अनुसार यस विद्यालयमा कक्षा १२ सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ भने प्राविधिकधार तर्फ कक्षा ९ देखि कम्प्युटर इन्जिनियरिङ विषय पठनपाठन हुने गरेको छ । त्यस्तै कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन तथा बिज्ञान विषयको समेत पठनपाठन भैरहेको ढुंगानाले बताउनु भयो ।

कार्यक्रममा प्रधानाध्यापकहरुको तर्फबाट प्रगति मावि गौरादह–८ का प्रधानाध्यापक डिल्लिराम अधिकारी, शिक्षक महासंघ गौरादह नगर समितिका अध्यक्ष बाबुराम भण्डारी, नीजि तथा आवासीय विद्यालयहरुको संगठन पेब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, पार्टी प्रतिनिधिहरु नेकपाका तर्फबाट गौरादह नगर सचिव माधव भट्टराई, नेकाका नगर सभापति यादवराज सेडाई, राप्रपाका प्रतिनिधि देबेन्द्र खड्का लगाएतले बिदाई तथा शुभकामना मन्तव्य राखनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक विवेक घिमिरेले गरेका थिए ।

तपाईको प्रतिक्रिया