Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झगेन्द्र खडका
गौरादह, १४ असोज २०७७ । गौरादह नगरपालिका वडा नं.८ को जुरोपानीमा नेपाल टेलिकम (एन.टि.सि.) को नेटवर्क नआउदा मोवाइलमा कुराकानी गर्न समस्या भएको जुरोपानी बासिले गुनासो गरेका छन्।

नेपाल टेलिकमले जुरोपानी क्षेत्रमा एन टि सि को टावर नभएपछि मोवाइलमा नेटवर्क नआउदा फोनमा कुराकानी गर्न समस्या भएको स्थानीय बासि बताउँछन्।

टेलिकमले गौरादह नगरपालिका वडा नं.७ को ग्वालडुब्बा र गौरीगंज गाउँपालिकाको गौरीगंजमा एन.टि.सि. को टावर राखेको छ। ग्वालडुब्बा र गौरीगंजको बिच भागमा जुरोपानी क्षेत्र रहेको छ। जुरोपानी तथा आसपासको क्षेत्रमा घना बस्ती रहेको छ। यस क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिकले मोवाइलमा एन.टि.सि. को सिम प्रयोग गरेपनि मोवाइलमा टावरको सिग्नल देखाउदैन। कुनै ठाउँमा टावरको सिग्नल देखाए पनि फोन लाग्दैन।

मोवाइलमा कुराकानी गर्न डाँडो वा खुल्ला ठाउँमा गएर फोन लगाउनु पर्छ। डाँडो वा खुल्ला ठाँउमा गएर फोन लगाएपनि क्यार क्यार गरेर बोलि काटिएर आउदा स्पष्ट बुझिदैन। अतिआवश्यक काम परेर फोन गर्न खोज्दा फोन नलागेर पटकपटक मोवाइलको फोन बटम थिच्नु परेको जुरोपानीका सालिक राम खनाल बताउँछन्।

जुरोपानी आसपासको क्षेत्रमा बसेर एन.टि.सि को सिम रहेको मोवाइलबाट फोन लगाउदा नेटवर्क नभएकाले फोन नलाग्दा फोन गर्नका लागि मात्र भएपनि टावर आउने ठाउँ खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीय गंगाराम ताजपुरिया बताउछन्।

चुनाब आउने समयमा दलका नेताहरुले जुरोपानी क्षेत्रमा भाषण गर्दा टेलिकमको टावर जुरोपानी चौकमा राख्न आफू कटिबद्ध भएर लाग्ने र चुनाब जितेमा टावर राखेरै छोड्ने बिस्वास दिलाएका थिए। चुनाब आएपिच्छे नेताहरुको चुनाबी नारा बन्ने गरेको जुरोपानीको एन.टि.सी टावर चुनाब सकिएपछि सेलाउने गरेको र नेताहरुले चासो नदेखाएको स्थानीय पुष्पराज शर्मा बताउँछन्।

गौरादह नगरपालिका वडा नं.८ को वडा स्थानीय सरकारले नेपाल टेलिकमको टावर जुरोपानी क्षेत्रमा राख्न टेलिकममा पहल गरिसेको वडा नं.८ का वडाध्यक्ष भूमिराज पोख्रेल बताउँछन्। वडाध्यक्ष पोख्रेलका अनुसार टेलिकम सँग पहल गरेर टावर राख्न जग्गाको समेत व्यवस्थापन गरिसकेको जानकारी गराए।

वडा नं.८ को वडा कार्यलय भवन बनेको ठाउँमा टेलिकमको टावर राख्न सम्बन्धित निकायमा जानकारी गराएको वडाध्यक्ष पोख्रेलले बताए। जुरोपानीमा एन.टि.सि को टावर राख्ने सिलसिलामा टेलिकमका ईन्जिनियर टावरको सर्बेह गर्न आएतापनि जुरोपानी आइनपुगी फेरि आउने जानकारी गराउदै ग्वालडुब्बाबाट फर्किएका वडा नं.८ का जनप्रतिनिधिहरु बताउँछन्।

टेलिकमको टावर राख्न ईन्जिनियरको टोली जुरोपानी आउदै छ भन्ने थाहापाएपछि वडाध्यक्ष पोख्रेल सहित जनप्रतिनिधिहरु पर्खिएर बसेको तर नआएको वडा सदस्य गोपाल घिमिरेले जानकारी गराए।

जुरोपानीमा टावर राख्न टेलिकम सुरुवाती समयमा सकरात्मक रहेको बताइएपनि पछिल्लो समयमा आसपासमा रहेका टावरको क्षमता बृद्वी गर्ने तर नयाँ टावर नथप्ने टेलिकमले बताएको वडाध्यक्ष पोख्रेल बताउँछन्।

सरकारी तवरबाट दिइने सेवा सुबिधा आम नागरिकले सहज रुपमा पाउनु पर्ने बताउदै नेटवर्क अभाबका कारण मोवाइल फोन सुबिधाबाट आफुहरु बन्चित हुनु परेको जुरोपानी बासिहरु बताउँछन्।

तपाईको प्रतिक्रिया