Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, १४ असोज २०७७ । गौरादह नगरपालिका भित्र रहेका वडा कार्यलयहरुले बिकाश निर्माणका क्रममा सडक निर्माणलाई प्राथमिकतामा राखेका छन।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको तीन बर्ष बितिसक्दा समेत ढुङ्गा,गिटी र बालुवा सडकमा बिछ्याउने कार्यलाई नै प्राथमिकतामा राखेका छन।

नगरपालिकाबाट वडा कार्यलयहरुलाई बर्सेनि करोड भन्दा बढी रकम सिलिङ बजेटको रुपमा बिनियोजित हुने गरेको छ।सिलिङ बजेटको रुपमा नगरपालिकाबाट बिनियोजित बजेटलाई वडा कार्यलयहरुले वडा स्तरिय योजना बनाउदा सडक र कल्भर्ट निर्माण कार्यमा प्रतिस्पर्धा भएको देखिन्छ।

स्थानीय सरकारबाट बजेट बिनियोजन भई निर्माण भएका सडक ३ महिना पछि भत्किन्छन।आर्थिक बर्षको अन्तिममा सडक निर्माण कार्य सुरु गरिन्छ र भदौ नलाग्दै सडकमा खाल्डा परेर हिड्न नसकिने हुन्छ।

आर्थिक बर्षको सुरुवाती समयमा नगरपालिकाले बजेट बिनियोजन गरेपनि सडक निर्माणको काम आर्थिक बर्षको अन्तिममा मात्र सुरु गरिन्छ।आर्थिक बर्षको मध्य तिर सडक निर्माणको ठेक्का टेन्डर लागेपनि ठेकेदारले सडक निर्माण कार्य आर्थिक बर्ष सकिने समयमा सुरु गर्छन।

स्थानीय सरकारबाट बिनियोजित बजेटलाई जसरी भएपनि तह लगाउने र आर्थिक बर्ष सकिन लागेको समय भएकाले हतारहतारमा झारो टार्ने काम गरिदा सडक निर्माणको गुणस्तर स्तरिय नहुदा निर्माण सकिएको केही महिना नबित्दै सडकमा खाल्डा परेको स्थानीय बासिन्दाको भनाइ छ।

बिकास निर्माणको पहिलो आधार सडक संजाल बिस्तार भएपनि सरकारी तवरबाट निर्माण गरिने सडक गुणस्तरीय नहुनु र गाउँले हरुले पनि सडकको बारेमा चासो नराख्नु बिडम्बना भएको गौरादह-२ का मित्र बहादुर बस्नेत बताउँछन्।

गौरादह नगरपालिका वडा नं.८ को बस्नेत गाउँबाट बोहोरा गाउँ सम्म जोड्ने सडक २० लाखमा निर्माण भएको हो।सडक निर्माण भएको केही महिना नबित्दै सडक खाल्डा परेको छ। सडकमा अहिले खाल्डाखुल्डी परेको छ। नयाँ निर्माण भएको सडकमा खाल्डाखुल्डी परेर पानी जमेर यात्रा गर्न समस्या हुने भएको स्थानीय नवराज दहाल बताउँछन्।

ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडकहरु बर्षाद सुरुहुने समयमा निर्माण कार्य सुरु गरिदा हतारमा काम सम्पन्न गरेर बजेट सक्ने काम गरिदा नागरिकहरुले दुस्ख पाएका छन भने सरकारी रकम सहि सदुपयोग नभएको गौरादह नगरपालिका वडा नं ७ का मदन रिजाल बताउँछन्।

गौरादह नगरपालिका भित्र बसोवास गर्ने अधिकांश नागरिक कृषिमा निर्भर रहेका छन। खेती गर्ने किसान वा जग्गा नभएर अधिया वा ठेक्का लिएर खेती गर्ने किसान जो सुकै भएपनि वास्तविक किसानले राहात पाउन सकेका छैनन्। स्थानीय सरकरले किसानलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरि बाँकी रहेको बजेटलाई अन्य बिकाश निर्माणमा लगाउनु पर्ने किसानको माग छ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा स्तरिय योजना बनाउनु पर्नेमा सडक संजाल बिस्तार र ढुङ्गा गिटी र बालुवालाई मात्र प्राथमिकतामा राख्दा किसान मारमा परेको गौरादह २ का किसान लोक बहादुर खड्का बताउँछन्।

तपाईको प्रतिक्रिया