Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ४ असोज २०७७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद् पुनर्गठन लगायत चारवटा कार्ययोजनमा केन्द्रीत रहेर छलफल थालेको छ । जसमध्ये मन्त्रिपरिषद पुनर्गठनको विषय नेकपा सचिवालय बैठकको पहिलो कार्ययोजनमा परेको छ । मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ ।

आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउन सकिने तीनमध्ये एक विकल्पलाई आधारविन्दुु बनाउन सकिनेमा आफ्नो धारणा राखेका हुन् ।

यस्ता छन् तीन विकल्प र?

‘तीन विकल्पमध्ये पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउने र सबै नयाँ राख्ने विषयमा छलफल भयो । दोस्रो, सुरुमा मन्त्री भएकालाई हटाउने र पछिल्लोपटक गएकालाई यथावत राख्दै हटाएका स्थानमा नयाँ अनुहारलाई लैजाने भन्ने पनि भयो’ एक सचिवालय सदस्यले भने, ‘तेस्रो विकल्पमा शुरुमै मन्त्री भएका पनि राम्रो काम गर्नेहरुलाई राख्ने र राम्रो काम गर्न नसकेकाहरुलाई मात्र हटाएर उनीहरुको ठाउँमा क्षमतावानहरु छानेर समावेशी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ भन्ने विकल्पमा छलफल भएको छ ।’

ती सदस्यकाअनुसार आइतबारको छलफलको स्प्रिट पहिलाका सबै हटाउने र सबै नयाँ राख्ने भन्ने नभएकाले यो सरकार गठन भएकै बखत मन्त्री भएकाहरु, जो राम्रो काम गरिरहेका छन् उनीहरुलाई यथावत नै राख्नुपर्छ भन्नेमा अधिकांश सदस्यहरु सहमत भएका छन् । ‘पहिलाका सबै हटाउने र उनीहरुको ठाउँमा सबै नयाँ राख्ने भन्ने त हुँदैन । आइतबारको छलफलको स्प्रिट त्यस्तो होइन । राम्रो काम गरेकालाई राख्ने, बाँकीमा नयाँ राख्ने भन्ने हो’ ती सदस्यको भनाई छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएपनि कसलाई हटाउने र कसलाई पठाउने भन्ने पात्रका बारेमा छलफल नभएको बताए । ‘आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको छ, तर कसलाई पठाउने र कसलाई हटाउने भन्ने मापदण्ड यहि हुन्छ भन्ने भैसकेको छैन । यसमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिने राजनीतिक नियुक्तिका विषयमा समेत सरकारलाई निर्णय गर्न सजिलो हुनेगरी छलफल भएको जानकारी दिए । तर संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने विषयमा पनि निर्णय भैनसकेको उनले बताए ।

नेकपा बैठकको कार्ययोजनामध्ये तेस्रो कार्ययोजना पार्टी एकताका बाँकी काम पुरा गर्ने तथा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने रहेको छ । त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ ।

नेकपामा हाल ४४० जना केन्द्रीय सदस्य छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा विभिन्न कारणले ७ जना केन्द्रीय सदस्यको पद रिक्त छ ।रातोपाटी

तपाईको प्रतिक्रिया