Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काडमाडौं, १९ भदौ २०७७ । कोरोना भाइरस (कोभिड-१९) महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् । तर, बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।

समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।

सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् । सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परीक्षण गराइरहेका छन् ।

बिमा समितिले सरकारकै नीतिविरुद्ध मापदण्ड बनाएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । बिमा गर्ने तर भुक्तानी नगर्ने अर्थात बिमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बिमा कम्पनीहरुको उक्साहटमा समितिले निर्णय लिएको आरोप लागेको छ ।

तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।

अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया