Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ४ पुष । लोकसेवा आयोगको परीक्षामा अर्काको नामबाट परीक्षा दिए पाँच वर्षसम्म परीक्षा दिन रोक लगाउने विषयमा सहमति भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा कसैले आयोगको परीक्षा सञ्चालन गर्ने, परीक्षा केन्द्र नियन्त्रण लिएमा वा लिन प्रयास गरेमा, परीक्षा सञ्चालनमा अवरोध गरेमा परीक्षामा ५ वर्षसम्म उम्मेद्वार हुन नपाउने गरी रोक लाग्नेछ ।

विधेयकको परिच्छेद ६ अन्तर्गत रहेको कसूर र सजाय अन्र्तगत दफा ३८ मा परीक्षा सञ्चालनमा संलग्न व्यक्तिले परीक्षा केन्द्रमा कुनै अनियमित काम कारवाही गरेमा त्यस्तो कर्मचारी वा तत्काल कामबाट हटाउने व्यवस्था छ । सो दफाको उपदफा २ मा हटाइएको त्यस्तो व्यक्तिलाई आयोगको अभिलेखमा राखी भविष्यमा आयोगबाट हुने कुनै परीक्षामा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ ।

यस्तै आयोगको परीक्षामा होहल्ला गर्ने परिक्षार्थीलाई तत्काल परीक्षा केन्द्रबाट निष्काशन गर्ने र एक वर्ष परीक्षा दिन रोक लगाउने, परीक्षामा कुनै पनि माध्यमबाट चीट चोर्ने , चोराउनेलाई दुई वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाउने विषयमा पनि सहमति भएको छ । कुनै परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएमा, प्रश्नपत्र फिर्ता नगरेमा वा कुनै विद्युतीय माध्यमबाट प्रश्न पत्र सार्वजनिक गरेमा ३ वर्षसम्म परीक्षा दिन रोक लाग्ने भएको छ ।

यस्तै आयोगको परीक्षामा अनियमितता गर्ने कर्मचारीलाई कामबाट हटाएर विभागीय कारवाहीको लागि सबन्धित निकायमा सिफारिस गर्ने विषयमा पछि छलफल भएको छ ।

तपाईको प्रतिक्रिया