Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, ४ पुष । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वि.सं.२०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कनेक्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा। श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगन्जबाट पक्राउ गरिएको जानकारी दिए ।

‘मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौंडाको वि.सं.२०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौं’–उनले भने ।

डा. श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौं, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया